कोरोना महामारीका कारण धेरै जना घरैमा थुनिएको समयमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अग्रपङ्क्तिमा खटिनुपर्ने पेसा व्यवसायमा संलग्न भएकाहरू भने कोरोनाविरुद्धको लडाइँमा मैदानमा थिए र छन् ।
पहिलो लहरको महामारीमा त हाम्रा स्वास्थ्यकर्मीसँग, मास्क, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) समेत थिएन । अक्सिजन र बेडको हाहाकार भइरहँदा स्वास्थ्यकर्मीले आफू बस्ने, बेञ्च तथा कुर्सीमासमेत संक्रमित राखेर उपचार गरे । दिनरात, भोक तिर्खा नभनी युद्धस्तरमा महामारीको सामना गरे ।
तिनै 'फ्रन्टलाइनर'को सम्मानमा दुजाङ शेर्पाको परिकल्पनामा राजधानीको रत्नपार्कस्थित आकाशे पुलको भित्तामा कलाकारहरूले एक चित्र बनाए । महामारीको समयमा खुल्लामञ्चमा भोकाहरूलाई मनकारीले भात खुवाउँदा लाज भयो भन्ने काठमाडौं महानगरले त्यो चित्र मेट्यो ।
फ्रन्टलाइनरलाई दिन्छु भनेर कबोल गरेको भत्ता दिन नसक्ने सरकारलाई कलाकारले आफ्नो तहबाट उनीहरूको सम्मानमा बनाएको चित्र पनि असह्य भयो ।
कोरोनाले संसार थलिँदा फ्रन्टलाइनरका नाममा यसरी सडकका भित्तामा चित्र यहाँ मात्र कोरिएनन् । केन्या, फ्रान्स, इन्डोनेसिया, सेनेगल लगायतका धेरै देशमा महामारीका दौरान कलाकारले सडक र सडकका भित्तामा यस्ता चित्र बनाए । सेनेगलका मेयरले त चित्र बनाएर धेरै मानिसम्म कोरोना महामारीको सन्देश पुर्याएको भन्दै कलाकारको सम्मान नै गरे ।
भारतकै पनि चेन्नई, बेङलुरु, विशाखापटनममा सडकका भित्ता, सडक र सार्वजनिकस्थलमा यस्ता चित्र बनाइयो । एसियन न्युज इन्टरनेसनलसँग भारतको चेन्नईमा यस्तै चित्र बनाउने कलाकार भन्छन्, ‘यो संकटबाट हामीलाई पार लगाउन खटिएका सबैको सम्मान र आमनागरिक जसले पत्रिका, टीभीको भाषा बुझ्दैनन्, तिनलाई महामारीको जानकारी दिनु हाम्रो दायित्व हो ।’
कलाकारको यही दायित्व सम्झेर शेर्पा र उनका साथीहरूले रत्नपार्कमा चित्र बनाएका थिए । चित्र बनाउनका लागि उनीहरूले महानगरको वडा नं २८ बाट अनुमति पनि लिएका थिए ।
त्यो चित्र सायदै कसैको आँखामा बिझाएको थियो । जसले हामीलाई यो संकटबाट जोगाए । जसले आफ्नो ज्यान दाउमा राखेर हाम्रो सेवामा खटिए तिनीहरूको सम्मानमा बनाएको चित्र मेटाउन महानगरले दुईवटा ट्रकमा नगर प्रहरी खटायो ।
चीनको वुहानमा स्वास्थ्य सेवमा खटिएका स्वास्थ्यकर्मीलाई बिदाइ गर्दा त्यहाँको प्रान्तीय सरकारले अस्पतालदेखि विमानस्थलसम्म सडकभर स्वास्थ्यकर्मीको सम्मानमा बनाइएका चित्र राखेको थियो । सडक किनारमा सैनिक र प्रहरी उभ्याएर सलामी दिइएको थियो । विमानस्थलमा हरेक कर्मचारीले निहुरेर स्वास्थ्यकर्मीको सम्मान गरेका थिए ।
तर, नेपालगञ्जको प्रादेशिक अस्पतालले स्वास्थ्यकर्मी माग्दा हाम्रो सरकारले भने पठाएन । बरु उल्टै स्वास्थ्यकर्मीमाथि हमला हुँदा राष्ट्रपतिले ‘भावनात्मक उत्तेजना’ भन्दै स्वास्थ्यकर्मीको अपमान गरिन् ।
उसो त स्वास्थ्यकर्मीको सम्मानमा बनाइएको उक्त चित्र भित्ताबाट मेटिए पनि आममान्छेको मनबाट मेटिएको छैन ।
परिकल्पनाकार शेर्पा भावुक त त्यतिबेला भए, जतिबेला अधिकांश स्वास्थकर्मीलगायत फ्रन्टलाइनरले ‘भित्ताबाट मेटे पनि मनबाट मेट्न कसैले सक्दैन’ भन्दै उक्त चित्र सामाजिक सञ्जालमा राख्न थाले ।
‘हामीले फ्रन्टलाइनरको हौसला बढाउन चित्र बनायौँ,’ उनले शिलापत्रसँग भने, ‘तर, राज्यले त्यो चित्र मेटेर उहाँहरूलाई निरुत्साहित बनाउने काम गर्यो ।’
स्वास्थ्यकर्मी, प्रहरी, सञ्चारकर्मीलगायतका फ्रन्टलाइनरमाथि दुर्व्यवहारका घटना भएपछि उनीहरूको सम्मानमा चित्र बनाउने सोच बनाएका हुन्, शेर्पाले ।
रत्नपार्कस्थित त्रिचन्द्र कलेज अगाडिको भित्तोमा चित्र बनाउन उनले क्याम्पस प्रशासनसँग अनुमति मागे । तर, त्यहाँ विप्लप नेतृत्वको नेकपाको प्रचार सामग्री पोतिएको थियो । त्यो मेटेर चित्र बनाउने अनुमती उनले पाएनन् ।
एक दिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आफन्त बिरामी भेटेर फर्किंदै गर्दा उनको नजर रत्नपार्कस्थित पुलको भित्तामा पुग्यो । र, वडा कार्यलयको सिफरिस लिएर उनले त्यहाँ चित्र बनाए । जुन मेटेर महानगरले कलाकार र फ्रन्टलाइनरको अपमान गरेको उनी ठान्छन् ।
हुन त सडकमा आफ्ना पोष्टर टाँस्ने तर, नागरिकका आवाज मेट्ने सत्ताको चरित्र नै हो । ११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग्दै सडकमा टाँसिएका पोस्टर पनि प्रहरी लगाएर च्यातिएको थियो, जब कि त्यही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीका तस्वीर बिजुलीका पोलमा झुण्ड्याइएका थिए ।
सत्ताले सडकका भित्तामा बनाइएका चित्र मेटेको यो पहिलोपटक भने होइन । कलाकार लक्ष्मण श्रेष्ठका चित्र बारम्बार मेटिएका छन् । वीर अस्पताल छेउको भित्तामा श्रेष्ठले बनाएका चित्र बारम्बार मेटिए ।
श्रेष्ठले पहिलोपटक भोटाहिटीको भित्तामा भूकम्पपछि घरमा टेका लागएर अड्याएको विषयलाई संकेत गर्दै पृथ्वीलाई नै टेका लगाएको चित्र बनाएका थिए । चित्र बनाएको केही दिनमै महानगरले मेट्यो ।
केही वर्षअघि श्रेष्ठले फेरि ‘डेड सरकार...’ लेखिएको एउटा चित्र बनाए । कालो पृष्ठभूमिमा सेतो रङले पोतेको ‘खप्पर’ । आगोको लप्काको किनारमा निहुरमुन्टी भएर चिता जलाइरहेको मानिस, पञ्जामा ‘मुङ्ग्रो’ (ग्याभेल) समातेर झम्टिन खोजिरहेको गिद्ध चित्रको बीच भागमा ‘डेड सरकार...’ लेखिएको थियो । यसको सन्देश थियो- ‘सरकार निकम्मा भयो । जनतालाई सरकार भएको आभाष हुन सकेको छैन,’ श्रेष्ठ सुनाउँछन् ।
तर, यो चित्र पनि महानगरको नजरमा पर्यो । र, मेटियो ।
त्यसको केही समयपछि श्रेष्ठको समूहले सोही भित्तामा ‘नालायक म’ शीर्षकको चित्र बनाए । यो पनि धेरै समय राज्यको नजरबाट बच्न सकेन । उक्त चित्रमार्फत ‘हामी हरेकले एकपटक आफ्नो बारेमा समीक्षा गर्नुपर्छ, आफैँलाई सुधार्नुपर्छ’ भन्ने सन्देश उनले दिन खोजेका थिए ।
श्रेष्ठको विद्रोह यतिमै रोकिएन । कलामार्फत समाजको चित्र उनले भित्ताहरूमा देखाइरहे । ‘नालायक म‘ चित्र मेटिएको केही समयपछि उनले ‘घरघरमा भ्रष्ट संस्कार’ शीर्षकको अर्को चित्र बनाए । यो चीत्रमार्फत हाम्रो घरभित्रै पनि समस्या छ भन्ने संकेत गर्न खोजेका थिए, उनले । कलाकारको सन्देशलाई अपनत्व महसुस गर्दै समाजको अवस्था सुधार्न लाग्नुपर्ने राज्य उल्टै चित्रको अस्तित्व नै समाप्त पार्न तम्सियो ।
रोचक त के भने– सुरुमा सरकारले यो तस्वीरको पूरै भाग भने मेटेन । कलाकार श्रेष्ठका अनुसार पहिलोपटक उक्त चित्रमा लेखिएको ‘भ्रष्ट’ शब्दमात्रै मेटिएको थियो । यद्यपि पछि त्यो भित्तो नै परीवर्तन भएपछि तस्वीर बाँकी रहेन ।
‘सुरुमा राज्यले ‘भ्रष्ट’ शब्दमात्र मेटेर ‘घरघरमा संस्कार’ मात्र छोडेको थियो,’ उनले भने, ‘यसको मतलब सरकारले जबर्जस्ती राम्रो देखाउन खोजेर गलत कुराको ढाकछोप गर्दैछ । जसले हामीलाई नै राम्रो गर्दैन ।’
त्यस्तै २०७६ माघ २७ गते ‘घण्टा सरकार’ नामको अर्को चित्र बनाए । त्यो पनि तीनदिन भन्दा धेरै टिक्न सकेन । झट्ट हेर्दा गलत अर्थ लाग्ने देखिए पनि उक्त चित्रले गहिरो अर्थ बोकेको उनको भनाइ छ ।
यहाँ उनले ‘घण्टा’को मतलब समयलाई जनाउन खोजेका थिए । जुन चित्रले स्पष्टसँग बोल्थ्यो- ‘सरकारको अकर्मण्यताले समग्र नेपालीको समय बरबाद पार्दै छ । त्यसैले समयको ख्याल गर सरकार !’
समग्र मानव सभ्यताले दोस्रो विश्वयुद्धपछिकै ठूलो संकटको सामना गर्दा त्यो संकटसँग जुध्ने फ्रन्टलाइनरको सम्मानमा बनाएको चित्र मेटिएको धेरैलाई निको लागेको छैन । ‘सके त महानगरले फ्रन्टलाइनरलाई आफैँ सम्मान गर्नुपर्थ्यो,’ शेर्पा अपेक्षा गर्छन्, ‘आफूले नगरे पनि अरुले गरेको त स्वीकार्नु नि ।’
शेर्पा र उनका साथीहरूले आइतबार महानगरमा चित्र मेटिएको विषयमा ज्ञापनपत्र बुझाएका छन् । जसमा उनीहरूले उक्त चित्र मेट्नुको स्पष्टीकरणसहित पुन: बनाउन दिनुपर्ने माग महानगरसामु राखेका छन् । ‘चित्र बनाउँन सुरु गरेको दिन महानगरको कार्यकारी प्रमुखले समेत भेटेर राम्रो काम भन्नुभएको थियो,’ उनले भने, ‘तैपनि किन मेटियो भनेर स्पष्टीकरण मागेका छौँ ।’
प्राचीनकालमा रोमबाट सुरु भएको भित्तामा चित्र कोर्ने यो कलालाई ‘नागरिकले विरोधको आवाज व्यक्त गर्ने कला’को रूपमा लिइन्छ । सडकको कला सबैको कला भन्ने गरिन्छ । सबैको कला भन्नुको अर्थ राज्यको, सत्ताको कला होइन ।
पोस्टरपम्प्लेट त्यसै छन्, चित्र मेट्ने हतारो !
अचम्म नमान्नुस, शहर कुरुप भएको भन्दै बारबार यस्ता चित्र मेटाएको महानगरले मनलाग्दी टाँसिएका पोस्टरहरू भने त्यसै छोडेको भेटिन्छ । विज्ञापनको र पैसाको लोभमा महानगरले होर्डिङबोर्ड र पोस्टरहरू हटाउन नसकेको आरोप उसलाई लाग्ने गरेको छ ।
सर्वोच्च अदालतको आदेशनुसार काठमाडौंमा सडकका भित्ता, बिजुलीका पोल, डिभाइडरमा प्रसार सामग्री टाँस्नु, झुण्ड्याउनु गैरकानुनी हो । अधिवक्ता पदम श्रेष्ठको रिटमा सुनुवाइ गर्दै १६ भदौ २०७२ मा सर्वोच्चले सडक छेउछाउका भित्तेलेखन, प्रसार सामग्री हटाउन गृहमन्त्रालय र काठमाडौं महानगरपालिकाका नाममा आदेश जारी गरेको थियो । तर, अदालतको आदेश कार्यान्वयन भएन बरु प्रचार सामग्री थपिएका छन् ।
अरु त अरु भित्ताहरूमा लेखिएका विभिन्न राजनीतिक दलका प्रचार समग्री पनि राजधानीको भित्तामा देख्न सकिन्छ । अनि दृश्यप्रदूषणको मुख्य कारक, पोलपोलमा झुन्डिएका बिजुलीका तारहरू पनि लथालिङ्ग भेटिन्छन् ।
तर, यस्ता प्रदूषणयुक्त सामग्री र थपिएका पोस्टर सामग्री भने महानगरले हटाउन सकेको छैन । बरु विभिन्न चेतनामूलक सन्देश प्रवाह गर्ने भित्तेचित्र भने मेट्ने हतारोमा देखिन्छ, महानगर ।
काठमाडौं महानगरका कार्यन्वयन महाशाखा प्रमुख धनपति सापकोटा भने ‘वाल पेन्टिङ’लाई निषेध गरिएकाले मेट्नुपरेको बताउँछन् । यस्ता चित्रले शहरको सौन्दर्य कुरुप बनाउँने भएकाले मेट्नुपरेको उनको तर्क छ । यद्यपि मनलाग्दी टाँसिएका पोस्टर, राजनीतिक दलका भित्तेलेखनबारे भने आलटाले जवाफ दिन्छन्, उनी ।
‘वाल पेन्टिङ पूर्णरूपमा निषेध छ । यस्ता सामग्रीले हाम्रो शहर कुरुप बनाउँछ,’ उनले भने, ‘अब यो पोस्टर र अन्य नाराबाजीका कुराहरू पनि देखेको अवस्थामा हटाउँछौँ । अदालतको आदेशसमेत आएकाले यस्ता चीजबिज टाँस्न मनाही छ ।’
कलासँग डराएको सत्ता : पोस्टरपम्प्लेट छोड्दै, कलात्मक चित्र मेट्दै


Comments
Post a Comment