इटालीको एउटा चर्चित कथा छ- पिनोचिओ नामक पात्रले झुटो बोल्दा उसको नाक लामो हुन्छ । सत्य लुकाउन झुट बोल्दा नाक लामो हुने श्राप पाएको हुन्छ निनोचिओ नामक पात्रले ।
र, यही कथालाई आधार बनाएर कलाकार किशोर ज्योतिले एउटा चित्र बनाएका छन् । अहिले सामाजिक सञ्जाल ट्वीटरमा ज्योतिले बनाएको चित्र लोकप्रिय भइरहेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मूर्ति र उद्घाटन मोह देखाउने उक्त चित्रले नेपाल र भारतले वर्तमानमा भोगिरहेको कोरोना कहर पनि देखाउँछ । नागरिकको पीडामाथि मूर्ति, स्मारकको किलो गाडेर बिझाइहेका शासकको चित्र उदांगो पार्छ ज्योतिको चित्रले ।
कोरोना महामारीको दोस्रो लहरले मुलुकलाई गाँज्दै छ भन्ने संकेत प्रस्ट हुँदाहुँदै पनि यी दुई शासकको मगजमा नागरिकको स्वास्थ्य प्राथमिकतामा परेन । बरु भारतमा मोदी चुनावी प्रचारमा लागे । यता नेपालमा मोदीको धार्मिक पदचाप पच्छ्याउँदै ओली ‘ठोरीवाले राम’को मूर्ति स्थापना गर्न लागे । त्यत्तिले उद्घाटन मोह पूरा नभएपछि उनी अधुरै धरहरा उद्घाटनमा दौडिए ।
जनता अक्सिजन र अस्पतालमा बेड नपाएर छटपटाइरहँदा सत्तासीनले देखाएका रमिताका दृश्य देखेपछि किशोर ज्योतिको दिमागमा चित्रको खाका बन्यो । अनि उनले नाम जुराए, ‘दम्भको स्मारक’ ।
उक्त तस्वीरले नेपाल र भारतको वर्तमान हायलकायल स्थिति देखाउँछ । एकातिर जनता कोरोना महामारीले आक्रान्त भइरहँदा शासकका नजर कृत्रिम संरचनाका टुप्पातिर अडिएका छन् ।
मोदी ‘सब चंगा सी’ (सबै ठीक छ) भनेर ढाँट्छन् । ओली ‘सिचुएसन इज अन्डर कन्ट्रोल’ भन्दै ढाँट्छन् । सत्तासीनहरूको यही ढाँट्ने प्रवृतिलाई ज्योतिले इटालीको कथासँग जोडेर चित्र बनाए । कोरोना संक्रमणले मरेकाहरूको चिताको पृष्ठभूमिमा मोदी र ओलीको टाउको छ । ओलीको नाकमाथि धरहरा ठडिएको छ । मोदीको नाकमाथि सरदार बल्लभ भाइ पटेलको मूर्ति ।
भारतमा धार्मिक विभाजनका सूत्रधार मानिने मोदीले एकताको प्रतिक भन्दै बल्लभ भाइ पटेलको मूर्ति बनाउन लगाएका थिए । यता ओलीले कु-समयमा धरहरा उद्घाटन गरे ।
‘हाम्रा लागि धरहरा गौरवकै विषय होला तर त्यो उद्घाटन गर्नुमा भने शासकको दम्भ मिसिएको थियो,‘ किशोर भन्छन्, ‘हो, त्यही दम्भको स्मारक मैले चित्रमा देखाएको हुँ ।’ ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै अस्पतालमा बेड, अक्सिजन थपेर महामारी व्यवस्थापनमा सक्रिय हुनुपर्ने समयमा ओलीले मुलुकमा केही भएकै छैन जस्तो गरेर धरहरा उद्घाटन गरे ।
जनताका समस्याबाट पन्छिदै उद्घाटन गर्ने शासकको हुटहुटीलाई दम्भको संज्ञा दिन हिचकिचाउनु पर्दैन भन्छन् ज्योती ।
कोरोना महामारीका कारण हाम्रो जग नै कमजोर भएको छ । जनता महामारीका कारण हायलकायल छन् । शव जलिरहेका छन् । तर, शासकको नजर भने जनताका व्यथातिर छैनन् ।
जनताका व्यथालाई उपहास गरेर कृत्रिम संरचनाको टुप्पोमा अडिएका छन् सत्तासीनका दृष्टि । किशोरको चित्रमा चर्किएको शासकको अनुहारले यही कुरालाई दर्शाउँछ । उनीहरूको आँखाले माथितिर हेरिरहँदा तल जलिरहेका शव र जनताको आर्तनाद देखिरहेका छैनन् ।
भुइँतिर नहेर्ने शासकीय प्रवृतिकै कारण सत्तासीनमा अहंम् जन्मिएको छ । अम्बाको पात र बेसारपानीमा अल्झिएका प्रधानमन्त्री ओलीले कारोनाका कारण दैनिक सयौंको मृत्यु भइरहँदा पनि ‘सिचुएसन इज अन्डर कन्ट्रोल भनिरहे ।’ अयोध्या र धरहरा उद्घाटनमा जुलुसका ताँती लिएर हिँडिरहे ।
शासकका यस्तै दम्भ र अहंमले थिचिएका जनताको मनोदशा बुझाउन ज्योतिले चित्र बनाएका हुन् । भारतमा मोदीले पटेलको मूर्तिलाई आवरणमा देखाएर एकता भनिरहे पनि उनले भित्रभित्रै हिन्दू-मुस्लिमको छुरा चलाइरहे । यता ओलीले धरहरालाई पर्दा बनाएर आफ्ना सबै कमजोरी ढाकछोप गर्ने प्रयास गरेको ठान्छन्, ज्योति ।
त्यसैले ज्योति प्रश्न गर्छन्, ‘महामारीको त्रास जति धेरै छ । त्यति नै राजनीतिक, आर्थिक र सामाजिक अन्योल छ । देशमा व्याप्त अराजकता, भ्रष्टाचार, अनियमितता र कमिशनको खेललाई राष्ट्रवादको सुनौलो पर्दाले ढाकेर कहिलेसम्म ढाकिएला ?’
गएका ६ वर्षदेखि सामाजिक मुद्दालाई आफ्नो चित्रमार्फत उजागर गरिरहेका ज्योति भिजुअल आर्टिस्ट हुन् ।
इटालीको कथाजस्तै झुट र दम्भको आडमा शासकले नाक त फुलाउन पाएका छन् । तर, त्यही नाक मुन्तिर नागरिक छटपटाइरहेका छन् । अक्जिसनको अभावमा मरिरहेका छन् । गर्व र दम्भबीचको फरक देखाउँदै ज्योति भन्छन्, ‘गर्व र दम्भमा धेरै अन्तर छ । कुनै कुरामा गर्व गर्नुका पछाडि एउटा इतिहास जोडिएको हुन्छ । तर, दम्भको कुनै इतिहास हुँदैन । दम्भ नितान्त व्यक्तिगत हुने गर्छ । त्यही दम्भको मूल्य अहिले नेपाली र भारतीय नागरिकले चुकाउँदै छन् ।’
Comments
Post a Comment