पहाडी जिल्लामा महाकवि विद्यापतिकाे सालिक



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा योगेश भट्टराईले धनुषा पुगेर मैथिली भाषाका महाकवि विद्यापति देशकै महाकवि भएको भावनालाई विस्तार गर्न पहाडमा पनि उनको सालिक बनाइने योजना सुनाएका थिए । सरकार मधेश–पहाडको एकता र संस्कृतिलाई सदृढ बनाउन लागिपरेको भट्टराईले बताएका थिए ।

नेपाल पत्रकार महासङ्घ धनुषाद्वारा आयोजित कार्यक्रममा तत्कालीन मन्त्री भट्टराईले पहाडी जिल्लाहरू इलाम, दैलेख र डडेलधुरालगायतमा विद्यापतिको सालिक बनाइने बताएका थिए । यसको सुरुआत भने इलामबाट भएको छ ।

इलामस्थित सूर्योदय नगरपालिकाको पहलमा बनाइएको महाकवि विद्यापतिको सालिक लगभग अन्तिम चरणमा पुगेको छ । सूर्योदय नगरपालिका- १२ स्थित कर्फोक माध्यमिक विद्यालय नजिकै विद्यापतिको सालिक बन्दैछ । वि.सं. २००९ सालमा राष्ट्रिय कवि सम्मेलन गरिएको स्थानमा विद्यापतिको प्रतिमा बनाउने काम भइरहेको हो ।

इलामस्थित सूर्योदय नगरपालिकामा बनाइएको विद्यापतिको सालिक ।

मैथिली साहित्यका महाकवि विद्यापतिको आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा ठूलो योगदान छ । उनको योगदानको कदर गर्दै नेपाल र भारतले उनको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरिसकेका छन् ।

मधेसी समुदायका विद्यापति मात्र होइन कसैको सालिक पनि पहाडी जिल्लामा बनाइएको थिएन । तर, पहाडी समुदायका व्यक्तित्वहरूको सालिक भने मधेसमा बनाइने गरिएको थियो । मधेश आन्दोलनका बेला आन्दोलनकारीहरूले मधेसमा रहेका पहाडी समुदायका नेता तथा साहित्यकाहरूको सालिक तोडफोड पनि गरेका थिए ।

वि.सं. २०६४ माघमा जनकपुरमा प्रशासनले लगाएको कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनकारीले विभिन्न संरचना तोडफाेड गरे । त्यसक्रममा भानु चोकमा रहेको आदिकवी भानुभक्त आचार्यको सालिक पनि तोडफोड भयो ।

इलामको सूर्योदय नगरपलिकामा बन्ने विद्यापतिको सालिकले भने सकारात्मक सन्देश दिने तथा सांस्कृतिक सद्भाव बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विद्यापतिको सालिक बनाउन नगरपालिकाले राम्रै कसरत गर्नुपर्‍यो । भट्टराई पर्यटनमन्त्री भएका बेला गृहजिल्ला ताप्लेजुङ जाने क्रममा सूर्योदय नगरपालिका पनि प्रवेश गरेका थिए । नगर पदाधिकारीले भट्टराईसँग पर्यटन प्रबर्द्धनका बारेमा छलफल गर्दै विद्यापतिको शालिक बनाउने प्रस्ताव गरे ।

कर्फाेक माविमा २००९ सालमा राष्ट्रिय कवि सम्मेलन भएकाले हिमाल, पहाड र तराईका धुरन्धर साहित्यकारको प्रतिमा त्यहाँ बनाउने योजना बनाए । किराँती साहित्यकार श्रीजङ्गा, नेपाली भाषाका आदिकवी भानुभक्त आचार्य र मैथिली साहित्यका महाकवि विद्यापतिको प्रतिमा एकै ठाउँमा बनाउने उनीहरूको याेजना थियाे ।

जनकपुरबाट झण्डै १३ किलोमिटर तल ‘बनौली' भन्ने ठाउँका विद्यापतिको सालिक उनीहरूको प्राथमिकतामा पर्‍यो । विद्यापतिको सालिक बनाउने तयारी भएसँगै थप अध्ययनका लागि नगरपालिकाले उपप्रमुख दुर्गादेवी भट्टराईको टोलीलाई जनकपुर पठायो । भट्टराईको टोली गत माघमा जनकपुर गयो ।

‘भाषा, कला, साहित्यको कुरा एकदमै विस्तृत हुँदो रहेछ । हामीले सोचेजस्तो काम गर्न सहज थिएन,' भट्टराईले भनिन् ।

जनकपुर बसाइमा उनीहरूले प्रदेश २ का मुख्यमन्त्री, विभिन्न स्थानीय प्रतिनिधिलगायत जानकारसँग भेट गरेर फर्किए । सूर्योदय नगरपालिकाबाट औपचारिक रूपमा गए पनि त्यहाँ अनौपचारिक भेटघाटमा उनीहरूको धेरै समय बित्यो । इलाममा विद्यापतिको सालिक बन्ने भएपछि जनकपुरबासीले खुसी हुँदै भट्टराईको टोलीलाई धेरै कुरा बुझाए ।

त्यसक्रममा उनीहरूले करिब ६ सय वर्षअघि विद्यापति बसेको स्थान बनौलीका स्थानीयसँग कुरा गरे । त्यहाँ रहेका भग्नावशेषको अवलोकन गरे । र, सूर्योदय नगरपालिकामा विद्यापतिको शालिक राख्ने निधाेमा पुगे । त्यसको लागि संघीय सरकारले २० लाख रुपैयाँ बजेट उपलब्ध गरायाे । 

त्यसो त जनकपुरमै पनि विद्यापतिको पूर्णकदको सालिक छैन । एउटा अर्धकदको सालिक छ । विद्यापतिको पूर्णकदको पहिलो सालिक सूर्योदल नगरपालिकामा बनाइँदै थियो । यस्तो अवस्थामा कलाकारहरू कस्तो सालिक बनाउने भनेर अन्यौलमा परे ।

कलाकारहरूले सुरुमा भारत र नेपालमा बनाइएका हुलाक टिकटलाई आधार मानेर सालिक बनाउने तयारी थाले । ‘डा. भोगेन्द्र झालगायत मिथिला संस्कृतिसँग सम्बन्धित जानकारसँग केही बुझ्यौँ,' कलाकार विक्रम श्रीले भने, ‘उहाँहरूको सल्लाहमा चल्यौँ । सुरुमा त विद्यापतिको हुलाक टिकटलाई आधार मानेर रुपाकृति बनाएँ ।'

श्रीले विस्तारै विद्यापतिले लगाएका टोपी, धोती र कमिजबारे खोज्न थाले । धोतीको इतिहास भने रोचक रहेछ । त्यो समयमा राजा महाराजा र प्रतिष्ठित भनिएका व्यक्तिले तलसम्म पुग्नेगरी लामो धोती लगाउने रहेछन् । अनि श्रमिक वर्गले छोटो धोती लगाउने चलन रहेछ । महाकवि विद्यापति भने लामो धोती लगाउने वर्गभित्र पर्ने रहेछन् ।

विद्यापतिको रुपाकृति कोरिसकेपछि श्रीले प्रमाणिकरणको लागि उनको तस्वीर खोज्ने अन्तिम प्रयास गरे । 'धिरेन्द्र प्रेमर्षिमार्फत तस्वीर पाएँ र दाँजेर हेरेँ । अन्तत : मिल्यो पनि,' उनले भने ।

श्रीले कुनै देउताभन्दा सामान्य मान्छेका रूपमा विद्यापतिकाे स्वरूप ढालेका छन् । ‘पहिला पहिलाचाहिँ देवत्वकरण गर्न दैवी गुण देखाउन भगवानको जस्तो आँखामुख बनाउने चलन थियो । प्रशंसा पनि बढी नै गरिन्थ्यो,' उनले भने, ‘तर मैले त्यसलाई ‘रियालिस्टिक ह्युमन क्यारेक्टर'मा ढालेको छु ।'

संंस्कृत भाषाको प्रभाव रहेको त्यो समयमा आफ्नो भाषाको उत्थानमा सघाउ पुर्‍याएका विद्यापतिको सालिक अबको एक हप्तामा इलाममा बनिसक्नेछ । यद्यपि त्यो बनाउने अवधि केही समयअघि सकिए पनि कलाकारको अनुरोधमा एक हप्ता म्याद थपिएको हो । 

मधेशका विद्यापतिको सालिक पहाडी जिल्लामा बन्दा जनकपुरबासी त खुसी हुने नै भए । सँगसँगै, यसले राष्ट्रिय एकताको भावना बोक्ने स्थानीयकाे विश्वास छ ।

तस्वीरहरू : विक्रम श्री

पहाडी जिल्लामा ठडियाे मधेसका महाकवि विद्यापतिकाे सालिक

Comments