सीमाका नेपाली सधैँ असुरक्षित


शुक्रबार दार्चुलाको व्याँस गाउँपालिका–२, मालघाटमा महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकाइदिएपछि ३५ वर्षीय जयसिंह धामी बेपत्ता भए । सदरमुकाम खलंगा हिँडेका धामी महाकालीमा बेपत्ता भए ।

स्थानीयसमेत रहेका तुइन सञ्चालक कल्याणसिंह धामीका अनुसार घटना हुनुअघि भारतीय एसएसबीको टोली त्यहाँ पुगेर निस्किएका थिए । अलि परै पुगिसकेका उनीहरूमध्ये दुई जना हतारिँदै फर्किए । एक जनाले ह्याक्सोब्लेट (फलाम काट्ने हतियार) बोकेका थिए भने अर्काको हात खाली थियो । खाली हात आएका एसएसबीले हतारहतार दुई-तीन फन्को डोरी फुकाइदिए । त्यसपछि लट्ठा लत्रियो । र, तुइन तर्दै गरेका जयसिंह महाकालीमा बेपत्ता भए । कमाइ गर्न हिँडेका उनी बीच बाटोमै भारतीय एसएसबीको अमानवीय हर्कतको सिकार हुनुपर्‍यो ।

करिब २१ वर्षदेखि तुइन सञ्चालन गरिरहेका कल्याणसिंहले पनि पहिलो पटक यस्तो घटना प्रत्यक्ष देखे । ‘यत्रो वर्षमा आज थाहा पाएँ, मान्छे यतिसम्म क्रूर पनि हुँदोरहेछ,' उनले भने । एसएसबीले यसअघि गर्ने गरेका ज्यादतीका पनि प्रत्यक्षदर्शी थिए उनी । तर, यस्तोचाहिँ नदेखेको बताउँछन् उनी । २१ वर्षदेखि त्यहाँ रहँदा आफैँले पनि धेरै पटक धम्की खानुपरेको उनी सम्झन्छन् ।

अहिले फुकाइएको तुइन हटाउन भारतीय पक्षले पटक-पटक दबाब दिने गरेको कल्याणसिंहको भनाइ छ । यस पटक पनि करिब एक हप्ताअघिदेखि तुइन हटाउन भनेर स्थानीयलाई भारतीय पक्षले धम्क्याएका थिए । स्थानीयमाथि अमर्यादित व्यवहार गर्दै ‘तुरुन्त तुइन हटा, नत्र ...,' भन्दै भारतीय पक्षले हप्कीदप्की गरेको उनी बताउँछन् ।

अवैधानिक बाटोबाट आवतजावत भएको भन्दै भारतीयले दुर्व्यवहार गर्ने गरेको कल्याणसिंहको भनाइ छ । जबकि उनको पुर्खादेखि सदरमुकाम खलंगा जान यही बाटोको प्रयोग हुन्थ्यो । आफ्नै जिल्ला सदरमुकाम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा छन्, व्याँसवासी । सदरमुकाम पुग्न नेपालको बाटोबाट एक दिन लाग्नेमा भारतबाट एक घण्टामै पुगिने स्थानीय बताउँछन् ।

त्यसमाथि हाल नेपाल र भारतबीच सम्झौता भई सोही स्थानमा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ । तुइनबाट आवतजावत गर्नु अवैधानिक नै थियो भने पनि भारतीय पक्षले कानुनी बाटो अवलम्बन गर्दै नेपालका प्रशासनिक इकाइमार्फत समस्या निराकरण गर्नपर्थ्यो । तर, बल प्रयोग गरी स्थानीयलाई धम्क्याउँदै आएका छन् ।

हुँदाहुँदा शुक्रबार मान्छे तरिरहेको तुइन फुकाइदिएर भारतीय एसएसबीले अमानवीय व्यवहार देखायो । जसको विरोधमा नेपालका विभिन्न राजनीतिक दल अनि संगठनहरूले विज्ञप्ति जारी गरेका छन् । यथाशीघ्र घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

एसएसबीका जवानलाई कारबाहीको माग गर्दै व्याँस गाउँपालिकाका बासिन्दाले पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिए । हत्या गर्ने उद्देश्यसहित घटना गराइएकाले संलग्न एसएसबीलाई कारबाही गर्न उनीहरूले माग गरेका छन् । जिल्ला प्रशासन दार्चुलाले पनि छानबिन गरी दोषीलाई कारबाही गर्न भारतीय प्रशासनलाई पत्राचार गरेको छ ।

गृह मन्त्रालयले पनि गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । जसमा मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख (डीआईजी) र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् । सरकारले पहिला आन्तरिक रूपमा मुद्दाको अनुसन्धान गर्ने र कूटनीतिक पहल गर्ने भन्दै समिति गठन गरेको हो ।

गृह मन्त्रालयले गठन गरेको समितिले यो विषय कसरी निरुपण गर्ला भन्ने हेर्नका लागि केही समय कुर्नुपर्नेछ । तर, विगतका नजिर केलाउने हो भने यस्ता घटनामा गठित समितिले आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गरेको देखिँदैन ।

जस्तो कि, २६ फागुन २०७३ मा कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजारक्षेत्रमा कल्भर्टको विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भयो । उक्त घटनाको छानबिन गर्न भन्दै यस्तै समिति बनाइयो । तर, त्यसले उल्लेख्य रूपमा काम गर्न सकेको देखिन्न । सीमावर्ती क्षेत्रको समस्या दिगो रूपमा समाधान गर्नका लागि सार्थक पहल भएको देखिँदैन ।

यदि गरेको हुन्थ्यो त यस प्रकारको भारतीय ज्यादतीमा न्यूनीकरण हुनुपर्थ्यो । बरु नेपाल-भारत सीमावर्ती क्षेत्रका जनता भने पटक-पटक भारतीय एसएसबीको ज्यादतीको सिकार हुनुपरेको छ ।जसलाई राज्यको निरीहपनको रूपमा लिन्छन्, सीमाविद् बुद्धिनारायण श्रेष्ठ । ‘भारतीय एसएसबीले पहिला गोविन्द गौतमलाई गोली हानेर मार्‍यो, अहिले पनि गोली ठोकेसरह तुइन तरिरहेको बेला फुकाइदियो,' उनले भने, ‘यस्तो अमानवीय घटना पटक-पटक दोहोरिइरहँदा राज्य जिम्मेवार नहुनु लाचारीपनाको पराकाष्ठा हो ।'

अहिले सरकारले गठन गरेको छानबिन समिति पनि घटना सामसुम पार्ने नियतले मात्र बनाइएको हो कि भन्ने सन्देह व्यक्त गर्छन, उनी । त्यसमाथि नेपालीले आफ्नै सदरमुकाम पुग्न अर्को देश हुँदै जानुपर्ने स्थिति आजसम्म रहनु थप दुःखलाग्दो भएको उनको टिप्पणी छ । मुख्यत: अर्काको भूमि भएरै हिँड्नुपर्ने भएकाले त्यहाँका नागरिकले भारतीय एसएसबीको अपमान झेल्नुपरेको श्रेष्ठको भनाइ छ ।

वर्षौंदेखि सीमावर्ती क्षेत्रका जनताले खेप्दै आएको दुःख देख्दादेख्दै सडक सञ्जालले जोड्न नसक्नु सरकारको लाचारीपना भएको उनी बताउँछन् । यद्यपि, सडक सञ्जाल नबनेको स्थितिमा पनि कूटनीतिक पहलमार्फत राज्यले नेपालीले झेलिरहेको समस्याको विषय हल गर्नुपर्थ्यो । तर, राज्य यसमा पटक-पटक असफल बनिरहेको देखिन्छ ।

सीमाविद् श्रेष्ठ सीमावर्ती क्षेत्रका नागरिकलाई राज्यले उपेक्षा गरेको बताउँछन् । गोविन्द गौतम घटनाको स्मरण गर्दै भन्छन्, ‘त्यतिबेला पनि छानबिन समिति गठन त गर्‍यो । तर, भारतसँग कूटनीतिक पहल गरेर यसको दिगो समाधानमा राज्य चुक्यो । बरु विमलेन्द्र निधिले घटनास्थल गएर पीडित परिवारलाई १० लाख दिने भने । के पटकपटक भारतीयले लिइराखेको ज्यान १०–२० लाखको हो ? सीमावर्तीको ज्यान बचाउने पहलचाहिँ खोइ ?'

दार्चुलामा एसएसबीबाट अन्तर्राष्ट्रिय सन्धि, अन्तर्राष्ट्रिय फौजदारी र मानवीय कानुनको उल्लंघन भएको श्रेष्ठ बताउँछन् । यसमा धेरै अन्तर्राष्ट्रिय कानुन, सन्धि आकर्षित हुने उनको भनाइ छ । नेपालले यस विषयमा भारतको स्पष्ट जवाफ र क्षतिपूर्ति माग्नुपर्ने उनी बताउँछन् ।

जयसिंह धामी र गोविन्द गौतम त केही प्रतिनिधि पात्र मात्र हुन् । सीमावर्ती क्षेत्रका नेपालीले बारम्बार भारतीय एसएसबीको ज्यादती झेल्नुपरेका उदाहरण प्रशस्त छन् । गएको असार २२ गते मोरङको जोगवनी नाकाबाट साइकलमा खाना पकाउने ग्यास लिएर आउँदै गरेका विराटनगरका युसुफ मियाँलाई एसएसबीले निर्घात कुटेर नालामा फालिदिए । एसएसबीले घूस माग्दा नदिएपछि मियाँ कुटिएका थिए ।

त्यस्तै, ९ मंसिरमा सुनसरीको हरिपुरस्थित दशगजा क्षेत्रमा एसएसबीको गोली लागेर स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भए । सीमा मिचेको भनेर विरोध गर्दा नै केही समयअगाडि सप्तरीको लालापट्टीका किसुनदेव यादवले एसएसबीको गोली खाए ।

मोरङका धनपालथान गाउँपालिकाका वासुदेव साहले पनि एसएसबीको गोली खाएरै ज्यान गुमाए । सो समयमा त्यहाँ कार्यरत प्रहरी शम्भु चौधरीको एसएसबीले हत्याको प्रयास गर्दा बचाउन जाने क्रममा उनले ज्यान गुमाउनुपरेको थियो ।

भरतीय एसएसबीले यसरी धेरै पटक नेपालीको ज्यान लिँदासमेत सरकारले दिगो समाधानको पहल गर्न सकेको छैन । जसका कारण राज्य देशको भूगोल एवं नागरिकको जीवन रक्षामा संवेदनशील छैन भन्ने प्रशस्त ठाउँ छन् ।

भारतीय पक्षले नेपालमा भइरहेका विभिन्न विकास निर्माणको काममा समेत अवरोध पुर्‍याउने गरेका छन् । केही समयअगाडि पर्साको ठोरीमा बनिरहेको सडक भारतीय एसएसबीको टोलीले भत्काएको थियो । पटक-पटक मानवीय एवं भौतिक संरचनामा भारतीय एसएसबीको टोलीले आक्रमण गर्ने गरेको छ ।

त्यसमाथि नेपाली भूमिमै जबर्जस्ती आफ्ना संरचना निमार्ण गर्ने र विरोध गरे दमन गर्ने भारतीय एसएसबीको नियत नै बनिसक्यो । जस्तो, केही समयअगाडि सुस्ता गाउँपालिका–५, बलिनगर सीमामा पर्ने दशगजा क्षेत्र अतिक्रमण गरेर एसएसबीले अस्थायी पोस्ट निर्माण गरेको थियो ।

त्यस्तै, सप्तरीको तिलाठीमा भारतीय पक्षले जबर्जस्ती बाँध बनायो । र, स्थानीयले त्यसको विरोध गर्दा दर्जनौँले घाइते शरीर लिएर घर फर्कनुपरेको थियो ।

यसरी सीमाको रक्षार्थ पटक-पटक टाउको फुटाएका नागरिकप्रति राज्यले उपेक्षा गरेको पाइन्छ ।उनीहरूको जीवनरक्षार्थ कुनै सार्थक पहल गरेको पाइँदैन । घटना भएको बेला केही तातिएको जस्तो देखिए पनि घटना सेलाउँदै जाँदा राज्यको चासो पनि सेलाउँदै जाने गरेको छ । राज्यको पटक-पटकको निरीहपना र भारतीयको दादागिरीको सिकार भने पटक-पटक बनिरहेका छन्, जयसिंह धामीहरू ... ।

सीमाका नेपाली सधैँ असुरक्षित

Comments